sssss
nrna
गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सी...
  • Home
  • Press Releases

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सी...

Sept. 9, 2022

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सीलाई कारबाही गर्ने भन्दै बिप्लप समूहको नाममा नेपालबाट फोन गरेर बारम्बार धम्की आइरहेको प्रति गैर आवासीय नेपाली सङ्घ अमेरिकाको गंभिर ध्यान आकर्षण भएको छ । नेपालीहरूको हितमा अन्तर्राष्ट्रिय अदालतमा समेत बहस गरिरहनु भएका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीलाई कुनै पनि समूहको नाम र बहानामा धम्क्याउनु देशको संवृद्धिका लागि जोडिने र हितमा काम गर्ने समग्र गैर आवासीय नेपालीहरूको मनोबल गिराउने उद्देश्यबाट प्रेरित भएको हाम्रो बुझाई छ ।
नेपालमा टेलिकम सेवा प्रदायक एनसेलको मुख्या सेयर धनी रहेको स्विडिस कम्पनी टेलिया सोनेराले नेपाल सरकारलाई तिर्नु पर्ने करिब ५० अरब रुपैयाँ नतिरे पछि नेपालको सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले नेपाल सरकारको पक्षमा मुद्धाको फैसला गर्यो । सो कम्पनीले आफू अन्तर्राष्ट्रिय कम्पनी भएको भन्दै नेपाल सरकारलाई पैसा दिन तयार भएन । त्यस पछि अन्तर्राष्ट्रिय अदालत हेगमा नेपालको तर्फबाट मुद्दा दायर भएको छ । कम्पनीले नेपाल सरकारलाई पैसा तिर्नु पर्छ भन्दै हेगमा नेपाल सरकारको तर्फबाट १५ जना वकिलको नेतृत्व खगेन्द्र जी सीले गरिरहनु भएको छ । हेगमा बहस चलिरहेको अन्तिम फैसलाको चरणमा रहेको बेला त्यसै बिषयलार्ई जोडेर धम्की आउनु अर्थपूर्ण बनेको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिका यसको घोर भर्त्सना गर्दछ ।
पूर्व अध्यक्ष जीसीले नेपाल प्रहरीलाई एक निवेदन लेख्दै धम्क्याउन प्रयोग गरिएको फोन नम्बर, समय ,उनीहरूले छोडेको भ्वाइस म्यासेज, धम्की दिने व्यक्तिको नाम समेत किटान गरी धम्की दिने व्यक्तिलाई कारबाही र आफ्नो सुरक्षाका लागि अपिल गर्नु भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिका धम्की दिने व्यक्ति र समूहलाई पक्राउ गरी अविलम्ब कारबाही गर्न साथै पूर्व अध्यक्ष खगेन्द्र जिसीको सुरक्षामा ध्यान दिन नेपाल सरकारसँग माग गर्दछ । गैर आवासीय नेपालीहरूलाई हतोत्साहित बनाउने,मनोबल गिराउने र नेपालमा सुरक्षा छैन भन्ने बनाउन गरिएका यस्ता हर्कतहरु सर्वथा निन्दनीय छन् । नेपाल सरकारले यसलाई गंभिरताका साथमा लिएर नेपाल र नेपालीहरूको हितमा उभिएका गैर आवासीय नेपालीहरूलाई नेपालमा कुनै असुरक्षा र जोखिम छैन भन्ने व्यवहारबाटै स्थापित गर्नु पर्दछ ।
तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति: ०८–१७–०२२