sssss
nrna
प्रेस विज्ञप्ति !
प्रेस विज्ञप्ति !

23 January, 2022 By Anjan Chaulagai

वासिङ्टन डी सी स्थित नेपाली राजदूतावासमा गैर आवासीय नेपाली सङ्घका पदाधिकारी, सल्लाहकारसँग बिहीबार 'गैर आवासीय नेपाली र नेपालमा लगानीको अवसर' विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा अमेरिका स्थित नेपाली राजदूतावासका अधिकारीहरूले नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले देशको विकास र समुन्नतिका लागि अव आर्थिक क्रान्तिको समय आएको आफ्नो मन्तव्य र प्रस्तुति दिनु भयो । दूतावासका इकोनमिक काउन्सलर होमकान्त भण्डारीले आर्थिक विकासका सूचक, सम्भावना र अवसरका विभिन्न आयाम माथि चर्चा गर्नु भयो । नेपालमा राजनीतिक परिवर्तनहरू पछि खुला अर्थतन्त्र, लगानी मैत्री वातावरणको परिवेश निर्माण भएकाले आर्थिक क्रान्तिको सँघारमा रहेको नेपालमा विदेशमा रहनु भएका नेपालीहरूले लगानी गरेर लाभ उठाउन र देश विकासको हिस्सेदार हुने अवसर आएको उल्लेख गर्नु भयो । एक दिनको सूचनामा अमेरिकाको राजधानी वासिङ्टन डी सी स्थित राजदूतावासको सभा हलमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई संवोधन गर्दै गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीले नेपालमा लगानी गर्न अहिले पनि नीतिगत र व्यवहारिक रूपमा थुप्रै उल्झनहरू रहेको औँल्याउनु भयो । दोहोरो कर प्रणालीको अन्तका लागि दुई देश बिच सहमतिका लागि तत्काल काम सुरु गर्नु पर्ने, लगानी, मुनाफा र करको विषयमा रहेका अन्यौलता हटाइनु पर्ने ,लगानीको दायरा बढाउनु पर्ने, नेपालमा जन्मिएका गैर आवासीय नेपालीहरूलाई स्वदेश फर्किदा भिसा शुल्क हटाइनु पर्ने लगायतका विषयमा अध्यक्ष सुवेदीले ध्यान आकर्षण गराउनु भएको थियो । नेपाल सरकार अर्थ मन्त्रालयले गैर आवासीय नेपालीहरूलाई नेपालमा डलर खाता खोल्न, पैसा जम्मा गर्न, ब्याज लिन र आवश्यक परेको अवस्थामा सहजै झिक्न सकिने गरी डलर खाता सञ्चालनमा गरेको परिमार्जनको अध्यक्ष सुवेदीले सह्राना गर्नु भयो । नेपालमा लगानी गर्न थुप्रै गैर आवासीय नेपालीहरू इच्छुक रहेको उल्लेख गर्दै सान्दर्भिक विषयमा अन्तरक्रिया आयोजना गरेकोमा अध्यक्ष सुवेदीले नेपाली राजदूतावासलाई धन्यवाद दिनु भयो ।
गैर आवासीय नेपाली सङ्घले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना लगानी गर्ने तयारी गरिसकेको छ । गैर आवासीय नेपालीहरूको सामूहिक र व्यक्तिगत लगानीका विषयमा पनि कार्यक्रममा छलफल भयो । गैर आवासीय नेपालीहरूको सामूहिक लगानी कोषमा नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरी सङ्कलन गरिने छ । आईपीओ भने सार्क मुलुक बाहेकका गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेल, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमल्सीना, गैर आवासीय नेपाली सङ्घका अनअरीकाउन्सिल मेम्बर राधेश पण्डितले लगानी र अवसरका विविध पक्षमा आफ्नो धारणा राख्नु भयो । कार्यक्रममा कृष्ण केसी, पवन चित्रकारले फरक विषयहरूमा प्रस्तुतिहरू दिनु भएको थियो । नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रम उत्तम घिमिरेले सञ्चालन गर्नु भएको थियो ।
अन्जनकुमार चौलागाई
महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति जनवरी ७–२०२२