sssss
nrna
Census 2020

Date March 14th, 2020

आदरणीय अमेरिकावासी सम्पूर्ण गैर-आवासीय नेपालीहरू,
हार्दिक नमस्कार !

विषय: अमेरिकी जनगणना २०२० मा नेपाली पहिचान सहित भाग लिनु हुन अनुरोध ।

अमेरिकाको संविधानमा व्यवस्था भए अनुसार प्रत्येक दश वर्षमा जनगणना गर्नु पर्छ र जनगणना २०२० को प्रक्रिया सुरु भई सकेको छ । मार्च १२ देखि अमेरिकी तथ्याङ्क विभागले हुलाकबाट एक निमन्त्रणा पत्र पठाउन सुरु गरेको छ । केही ठेगानाहरूमा बस्नेहरूले आज पत्र पाउनु भयो भने अरूले मार्च २० सम्ममा पाउनु हुने छ। एकै दिन सबैलाई निमन्त्रणा पठाउँदा एकै साथ ठुलो सङ्ख्यामा मानिसहरूले अनलाइनबाट फर्म भर्न खोजे भने समस्या हुन सक्छ भनी विभिन्न दिनमा पत्र पठाउने व्यवस्था गरिएको हो ।

तपाईँले अमेरिकी तथ्याङ्क विभाग बाट प्राप्त गर्ने पत्रमा दुई महत्त्वपूर्ण सूचनाहरू हुन्छन् -

(१) तपाईँको Census ID: यो १२ अङ्कको Census ID तपाइको ठेगानासँग सम्बन्धित हुन्छ; तपाईँको नामसँग होइन । जनगणनाको फर्म भर्न सुरु गर्दा यो ID को प्रयोगले कुन ठेगानाको लागि फर्म भरियो भन्ने थाहा हुन्छ । यदि तपाईँले निमन्त्रणा पत्र पाउनु भनेको छैन तर जनगणनामा भाग लिन चाहनु हुन्छ Census ID को सट्टा यसको तलतिर "If you do not have a Census ID, click here" मा click गरेर सोधिएका प्रश्नहरूको उत्तर दिए पुग्छ; पत्रलाई कुर्नु पर्दैन ।

(२) Respond by April 1 at my2020census.gov: जनगणना २०२० को लागि "जनगणना दिन" अप्रिल १ हो र अनलाइनबाट भाग लिन अप्रिल १ सम्मको म्याद छ। म तपाईँलाई अप्रिल १ भन्दा अगावै अनलाइनबाट फर्म भरेर जनगणनामा भाग लिनु हुन अनुरोध गर्दछु ।

साथै, तपाईँले जनगणनामा भाग ली सके पछि Facebook वा अन्य सामाजिक सञ्जालबाट अरूलाई पनि उत्प्रेरित गर्नु हुन अनुरोध गर्दछु ।

जनगणनामा व्यक्तिको सामान्य जानकारी सम्बन्धी प्रश्नको अलावा जातियता (Race) सम्बन्धी प्रश्न पनि छ । यो एकदम महत्त्वपूर्ण प्रश्न हो । हाम्रो अनुरोध यो छ कि यो प्रश्नको उत्तर दिँदा अन्य एसियाली ("Other Asian") छानी खालि ठाउँमा नेपाली ("Nepali") लेख्नु होला । यसो गरिएको अवस्थामा नेपालीको पहिचान सहित गणना हुन्छ र नेपालीहरूको अमेरिकामा भएको सङ्ख्या थाहा पाउन सम्भव हुन्छ जुन नेपाली अमेरिकन समुदायको लागि ठुलो उपलब्धि पनि हो ।

अमेरिकी गणना २०२० सम्बन्धी कुनै प्रश्न भए सम्पर्क गर्नुहोस् -

डा. अर्जुन बन्जाडे
Senior Vice President, NRNA NCC of USA
Chair, Census 2020 Taskforce
Cell: 214-680-2871
Email: [email protected]